प्रमुख अतिथिबारे आ–आफ्नै सुर हुँदा भरतपुर अस्पतालको वार्षिकोत्सव नै ‘झुर’

 चैत २६, २०८१ मंगलबार ९:२१:५१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवनमा रहेको सङ्घीय स्तरको अस्पताल भरतपुर अस्पतालको वार्षिकोत्सवमा प्रमुख अतिथि छनौटको विवादले कार्यक्रमको रौनक नै गायब भयो । प्रमुख अतिथि को बनाउने भन्ने विषयमा मुख्य दलहरु ‘चुर’ बन्दा केन्द्रीय तहको अस्पतालको वार्षिकोत्सव नै ‘झुर’ भएको छ ।

सोमवार सम्पन्न भरतपुर अस्पतालको ६९ औँ वार्षिकोत्सवमा न आउनुपर्ने अतिथि आए, न त जुट्नुपर्ने सहभागी नै जुटे । मञ्चमा कमै अतिथि देखिए भने सहभागीको रुपमा अधिकांश अस्पतालका विद्यार्थी मात्र भेटिए । तयारी भव्य भए पनि सहभागिता रौनकविहीन देखियो ।

अस्पतालको वार्षिकोत्सवमा प्रमुख अतिथि बनाउन एमालेको चाहाना प्रधानमन्त्री, कांग्रेसको इच्छा शेखर कोइराला, माओवादीको आकाङ्क्षा प्रचण्ड र अस्पताल परिवारको रहर विभागीय मन्त्री थियो । मुख्य दलहरुले रोजेको र अस्पतालले खोजेको प्रमुख अतिथि नभएपछि वार्षिकोत्सव खल्लो रुपमा सम्पन्न भएको छ ।

भरतपुर अस्पतालको वार्षिकोत्सव विगतमा निकै तामझामका साथ हुने गरेको थियो । कार्यक्रममा प्रायः प्रधानमन्त्री वा विभागीय मन्त्रीलाई प्रमुख अतिथि बनाउने चलन थियो । त्यसो त स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखादेखि महत्त्वपूर्ण ठाउँका व्यक्तिहरु वार्षिकोत्सवमा आउने गरेको विगत थियो । यसपटक न प्रधानमन्त्री, न विभागीय मन्त्री न त कुनै विभागीय प्रमुख कोही पनि उपस्थित भएनन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा.कृष्णप्रसाद पौडेल कांग्रेस निकट मानिनुहुन्छ । कांग्रेसको पनि एउटा ‘गुट’ लाई मात्रै हात लिएर हिँडेको आरोप मेसु पौडेलले खेप्दै आउनुभएको छ ।

अस्पताल विकास समितिको अध्यक्ष राजु पौडेल माओवादी निकटका हुनुहुन्छ । माओवादी निकट रहेर पनि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पनि पौडेलसँग खुशी हुनुहुन्न । आफ्नै पालिकाभित्र रहेको यस अस्पतालको वार्षिकोत्सवमा भरतपुर महानगरपालिकाको मेयर दाहालसमेत उपस्थित हुनुभएन ।

नेकपा एमाले आफ्नो पार्टीको नेतृत्वको सरकार रहेका कारण भरतपुर अस्पतालमा समेत आफ्नो सहभागिता र उपस्थितीलाई  दमदार देखाउन चाहान्छ । तर त्यसका लागि ‘गरिदिने मान्छे’ उसको अस्पतालमा कोही छैन । एमाले मात्र होइन सबै दलले आफ्नो दबदबा अस्पतालमा देखाउन चाहान्छन् ।

त्यसैले दलका प्रतिनिधिले मेसुलाई विभिन्न समयमा दबाब, प्रभाव र धम्की दिँदै आएको भन्ने गुनासाहरु सार्वजानिक हुँदै आएका छन् ।

भरतपुर अस्पतालको वार्षिकोत्सवमा एमालेको चाहना प्रधानमन्त्री केपी शर्मा ओली ल्याउने थियो । भरतपुरको ६ लेन सडकको उद्घाटन र भरतपुर अस्पतालको वार्षिकोत्सव एकै दिन पारेर गर्ने योजनामा एमाले थियो । तर प्रधानमन्त्री ओली विदेश भ्रमण सकेर भर्खर आएका कारण यी कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था आयो ।

ओली चितवन आएर ६ लेन सडक उदघाटन गर्ने भए पनि कांग्रेसले भने कांग्रेस नेता शेखर कोइराललाई प्रमुख अतिथि बनाएर भरतपुर अस्पतालको वार्षिकोत्सव गर्न चाहन्थ्यो । माओवादीले भने पूर्व प्रधानमन्त्री प्रचण्डलाई नै ल्याएर कार्यक्रम गर्न दबाब दिइरहेको थियो ।

दबाब थेग्न नसकेका मेसु पौडेल भने विभागीय मन्त्रीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्दा तीनतिरको दबाबलाई झेल्न सहज हुने अनुमानका साथ त्यही लविङमा लाग्नुभएको थियो । तर स्वास्थ्य मन्त्री प्रदिप पौडेल पनि विदेश भएकाले त्यो तयारीले पनि सार्थकता पाउन सकेन ।

मेसु पौडेल स्वास्थ्य मन्त्री पौडेल सम्भव नहुने भएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ल्याउने तयारीमा रहनुभएको थियो । तर मुख्यमन्त्रीले समेत आफूले नभ्याउने भन्दै अर्थमन्त्री कुन्दनराज काफ्लेलाई पठाइ दिनुभयो ।

प्रमुख अतिथि को बनाउने भन्ने विषय पेचिलो बनेकै कारण अस्पतालमा वार्षिकोत्सवको रौनक नै हरायो । कार्यक्रम १२ बजे शुरू हुने भने पनि त्यस समयमा अस्पतालका नर्सिङ विद्यार्थी र नर्स मात्रै कार्यक्रम स्थलमा देखिन्थे ।

साङ्गीतिक कार्यक्रमबाट शुरू भएको कार्यक्रम दिउँसो १ः३० बजेतिर औपचारिक रुपमा शुरू गरिएको थियो । त्यसमा पनि दर्शकदीर्घामा तिनै विद्यार्थी र फाट्टफुट अन्य स्वास्थ्यकर्मी मात्रै देखिए ।

दैनिक एक हजार पाँच सयदेखि तीन हजार हाराहारी बिरामी आउने यस अस्पतालमा ६ सय शय्या सञ्चालनमा रहेका छन् । अस्पतालको वार्षिक ९२ प्रतिशत बेड अकुपेन्सी हुँदै आएको छ ।

विगतका वर्षमा यस अस्पतालको वार्षिकोत्सवको चहल–पहलले खास अर्थ राख्ने गरेको थियो । केन्द्रीय स्तरको अस्पतालको वार्षिकोत्सव सर्वत्र चासो चर्चा हुने गरेको थियो । 

भरतपुर अस्पताललाई सरकारले २०७५ सालको फागुन ३ मा सङ्घीय मन्त्रालयअन्तर्गत राखेर विशिष्टिकृत रेफरल हस्पिटल घोषणा गरेको थियो ।

अस्पतालमा हाल १ हजार २ सय ११ जना कर्मचारी छन् । अस्पतालमा गएको आर्थिक वर्षमा चार लाख ५६ हजार १ सय ५९ जना बिरामी ओपीडीमा आएका थिए । जसमध्ये २८ हजार ४ सय ४ जना भर्ना भएर उपचार गराएका थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया