अफगानिस्तानको सीमाबाट पाकिस्तान प्रवेश गर्न खोज्ने ५४ जना मारि...
बैशाख १५, २०८२ सोमबार
रुपन्देही – प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताउनुभएको छ ।
पार्टीको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले एमालेलाई विभाजनको कोशिश गर्ने देशी–विदेशी प्रतिक्रियावादी तत्त्वहरू असफल भएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान् नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छाैँ । मान्छेको घरमा आगो लगाएर, पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।
उहाँले राजतन्त्र र पञ्चायतकालमा देशमा कुशासन र अव्यवस्था भएकाले नागरिकको बलिदानीपूर्ण सङ्घर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याइएको र यसलाई बलियो बनाउन सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्त्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफवाह फैलाउन खोजे पनि त्यसबाट कुनै विचलित नभई समृद्धि र सुशासनको यात्रामा योगदान दिन सबैमा आग्रह गर्नुभयो । अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तका पछि लाग्नु बेकार भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै नागरिकको समृद्धि र विकासका चाहना पूरा गर्न वर्तमान सरकार कटिबद्ध भएकाे बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारका पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकौं विकास, प्रविधिका योजना र कार्यक्रम ल्याइएको जिकिर गर्नुभयो ।
सभामा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्ने गरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । एमाले सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले र पार्टी नेतृत्वले गरेका कामबारे आफूहरू छलफल गर्न तयार रहेको भन्दै विपक्षी र प्रतिगामी पक्षहरूबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।