सामाजिक सुरक्षा कोषले योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्याेपचार सुविधा दिन थाल्यो

 वैशाख ३, २०८२ बुधबार १५:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सुरक्षा कोषले योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्योपचार सुविधा दिन थालेको छ । २०८२ सालको शुरुआतसँगै योगदानकर्ताका १८ वर्षसम्मका सन्ततिलाई पनि सुविधा दिन थालेको कोषले जनाएको छ ।

यसअघि योगदानकर्ता र उनीहरूका श्रीमान्–श्रीमतीले मात्र स्वास्थ्योपचार सुविधा पाउने गरेकामा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा गरिएको पाँचौं संशोधनबाट सुविधा थप भएको हो ।

अब कम्तीमा लागातर तीन महिना योगदान गर्ने योगदानकर्ता, तिनका श्रीमान्–श्रीमती र १८ वर्षसम्मका छोराछोरीले एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् । जसमा २० प्रतिशत योगदानकर्ताले बेहोर्नुपर्छ ।

यस्तै कोषले पाँच वर्ष योगदान गर्ने योगदानकर्ताका हकमा अस्पताल भर्ना हुने बिरामीको १० लाख रुपैयाँसम्मको उपचार खर्च बेहोर्नेछ । जसमा ५० प्रतिशत खर्च योगदानकर्ताले बेहोर्नुपर्छ ।

यस्तै अब सरकारी निकायका कार्यरत अस्थायी, करार एवम् निवृत्तिभरण नपाउने स्थायी कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।

झन्डै ६ वर्षअघि सञ्चालनमा आएको कोषमा गएको चैत मसान्तसम्म २० हजार तीन सय ६२ रोजगारदाता र २१ लाख ५१ हजार जना योगदानकर्ता सूचीकृत भएका छन् । योगदानकर्ताहरूमध्ये १५ लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू छन् । कुल योगदान रकम ७७ अर्ब ६७ करोड रुपैयाँ पुगेको कोषको तथ्याङ्क छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया