रुस–युक्रेनबीच युद्धविरामको सङ्केत नदेखिए अमेरिकाले मध्यस्थताको प्रयास त्याग्ने

 वैशाख ५, २०८२ शुक्रबार १८:१२:४९ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले युक्रेन र रुसबीचको युद्धविराम सम्भव छ कि छैन भनेर अमेरिकाले चाँडै निर्णय गर्नुपर्ने बताउनुभएको छ ।

युरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले युद्धविराम हुने स्पष्ट सङ्केत नदेखिए केही दिनभित्रै अमेरिकाले रुस–युक्रेन शान्ति सम्झौतामा मध्यस्थता गर्ने प्रयास त्याग्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ ।

युक्रेनले आफ्नो देशको पुनर्निर्माणका लागि लगानी कोष स्थापना गर्ने उद्देश्यले अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्ने दिशामा पहिलो कदम चालेको केही घण्टापछि रुबियोको यो टिप्पणी आएको हो । अमेरिकाले विगत तीन वर्षदेखि युक्रेनलाई सहयोग गरिरहेको छ र आफूहरूले यसको अन्त्य चाहेको उहाँको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता शुरू गर्न सहमत भएपछि युक्रेन र युरोपेली सहयोगीहरूलाई बेवास्ता गर्नुभएको छ भने युरोपेली शक्तिहरू वार्तामा बस्न चाहिरहेका छन् ।

अमेरिकी विदेशमन्त्री रुबियोले युरोपेली अधिकारीहरूले बिहीवार भएको वार्तामा ‘आफ्ना विचारहरूमा निकै सहयोगी र रचनात्मक बनेको बताउनुभएको छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली देशहरूले विचार गर्ने पनि आफूले आशा व्यक्त गरेको उहाँले बताउनुभयो ।

युरोपेली देशहरूले गएको महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया