धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्...
बैशाख १५, २०८२ सोमबार
कास्की – निर्माण चरणमा खेपेको धूलो र हिलोको सास्तीलाई बिर्सँदै सर्वसाधारणले अब ४ लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् ।
निर्माणमा कुनै अवरोध नआएमा आउँदाे हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । ५० वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम शुरू गरिएको थियो ।
गण्डकी प्रदेशको 'लाइफलाइन' का रूपमा रहेको यस सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन) मा अहिलेसम्म भौतिक प्रगति ८२ दशमलव ९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने) मा ५० दशमलव ३४ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इन्जिनियर एवम् सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार कुल ४१ दशमवल ४५ किमी दूरीको यस खण्डमा ३ किमी मात्र कालोपत्र हुन बाँकी छ । ‘कालोपत्र अन्तिम चरणमा पुगेको छ, दमौली र डुम्रे बजारमा गरी झन्डै २ किमी सडक ६ लेनको बनेको छ, अन्यत्र ४ लेनको छ’, उहाँले भन्नुभयो, ‘आउँदाे असारभित्रमा पूर्वी खण्डको काम सक्ने लक्ष्य छ ।’
पूर्वी खण्डमा पर्ने १७ साना–ठूला पक्की पुल गएकाे वर्ष नै निर्माण भएको इन्जिनियर पाण्डेले बताउनुभयो । तनहुँको मादी नदीमा बन्ने 'सिग्नेचर' पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको उहाँको भनाइ छ । कोभिड–१९ महामारीलगायत कारणले शुरूको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय तीव्र गतिमा सडक निर्माणको काम भएको इन्जिनियर पाण्डेले बताउनुभयो । पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम शुरू गरेको थियो । यस खण्डको ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरले आउँदाे जेठ पहिलो हप्ताभित्र यस खण्डमा एकतर्फी (दुई लेन) मा कालोपत्रको काम सकिने बताउनुभयो । कुल ३८ दशमलव ८८ किमी दूरीको यस खण्डमा अहिलेसम्म ३५ दशमलव ५ किमी एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको उहाँको भनाइ छ । ‘झन्डै ३ किमी मात्र एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमी दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ’, आयोजना प्रमुख कुँवरले भन्नुभयो, ‘आउँदो असारभित्रमा ३० किमी दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।’
कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोकलगायत क्षेत्रमा एकतर्फी कालोपत्र हुन बाँकी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म एकतर्फी कालोपत्र भइसकेको आयोजना प्रमुख कुँवरले जानकारी दिनुभयो । ‘बिजुलीका पोल सार्न भएको ढिलाइले सडक निर्माणमा पनि केही असर पुर्याइरहेको छ’, उहाँले भन्नुभयो, ‘अझै ४ सय वटा जति बिजुलीका पोल हटाउनुपर्ने अवस्था छ ।’ आउँदाे पुससम्म ठेक्काको म्याद रहेकाले त्यस अवधिमा कालोपत्र सक्ने गरी कामलाई गति दिइएको उहाँको भनाइ छ ।
कालोपत्र सकिएपछि फुटपाथ, सडक सुरक्षालगायतका काम शुरू हुने उहाँले बताउनुभयो । पश्चिम खण्डमा १८ दशमलव ५ किमी दूरीमा ६ लेन र बाँकीमा ४ लेनको सडक बन्नेछ । यस खण्डमा शहरी क्षेत्र बढी भएकाले ६ लेनमा सडक विस्तार गरिएको हो, आयोजना प्रमुख कुँवरले भन्नुभयो, तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि ६ लेन सडक निर्माण भएको छ । पश्चिम खण्डका १२ पुलमध्ये १० वटा बनिसकेका छन् । कास्कीको विजयपुर र तनहुँको शेराटारमा पुल निर्माणको काम भइरहेको छ ।
पोखराको सेती नदीको 'सिग्नेचर' पुल भने छुट्टै ठेक्कामार्फत काम भइरहेको आयोजना प्रमुख कुँवरले बताउनुभयो । यस पुलको भौतिक प्रगति ४४ दशमलव ६६ पुगेको उहाँको भनाइ छ । 'केबल–स्टेड' प्रविधिको यस पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो । तनहुँको जामुनेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम शुरू भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्डको ठेक्का पाएको थियो ।
दुवै खण्डका धेरैजसाे ठाउँमा एकतर्फी कालोपत्र भइसकेकाले पोखरा–मुग्लिन सडक यात्रा सहज बन्दै गएको छ । दुईतर्फी नै कालोपत्र सकिएपछि पोखरादेखि काठमाण्डाै, नारायणगढलगायतका गन्तव्यको यात्रा अझ धेरै छोटिने छ । कुल ८१ किमी दूरीको पोखरा–मुग्लिन सडक एशियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणलाई गति दिन पोखराका पर्यटन व्यवसायीलगायतले दबाव दिँदै आएका थिए ।
गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आउजाउ गर्दा धूलो र हिलो छिचोल्दै घण्टौंको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य हुनेछ ।
पोखरा महानगरपालिका–१० का वडाध्यक्ष राजेश गुरुङले सडक विस्तारका क्रममा सालिकलगायतका संरचना हटाउँदा पोखराका चोक पनि खुला र आकर्षक देखिएको बताउनुभयो । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर चोकहरूलाई चौडा बनाइएको हो । ‘फराकिलो सडकमा दुर्घटनाको जोखिम पनि बढी हुने भएकाले सडक सुरक्षाबारे सर्वसाधारणलाई सचेतना जगाउनु जरुरी छ’, वडाध्यक्ष गुरुङले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।