अमेरिकाद्वारा चिनियाँ पानीजहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा

 वैशाख ६, २०८२ शनिबार ९:३५:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले चीनमा निर्मित र उसबाट सञ्चालित पानी जहाजमा नयाँ बन्दरगाह शुल्कको घोषणा गरेको छ ।

घरेलु जहाज निर्माण उद्योगलाई प्रोत्साहन दिने र यो क्षेत्रमा चीनको प्रभुत्व रोक्नका लागि भन्दै अमेरिकाले शुल्क लगाएको हो ।

नयाँ नियमअनुसार प्रति टन भार वा प्रति कन्टेनर शुल्क हरेक बन्दरगाहमा नभई चीनसँग जोडिएका हरेक जहाजको अमेरिकी यात्रामा लागू हुनेछ ।

योजनाअनुसार आउँदो अक्टोबरको मध्यदेखि चिनियाँ मालवाहक पानीजहाजका मालिक तथा सञ्चालकलाई प्रतिटन कार्गोबापत ५० अमेरिकी डलर शुल्क लगाइने छ र त्यो आउँदो तीन वर्षसम्म हरेक वर्ष शुल्क बढ्ने छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको कर वृद्धिलाई लिएर अमेरिका र चीनबीच ठूलो व्यापार युद्ध चलिरहेको अवस्थामा पछिल्लो घोषणा सार्वजनिक भएको हो ।

अमेरिकी आर्थिक सुरक्षा र वाणिज्यको स्वतन्त्र प्रवाहका लागि पानीजहाज र पानीमार्फत् हुने ढुवानी महत्त्वपूर्ण रहेको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार चीन, दक्षिण कोरिया र जापानले ९५ प्रतिशतभन्दा धेरै पानी जहाज निर्माण गर्छन् । चीनले नयाँ शुल्क ‘सबै पक्षका लागि हानिकारक’ हुने चेतावनीसमेत दिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ढुवानी लागत, विश्वव्यापी उत्पादन र आपूर्ति शृङ्खलाको स्थिरतालाई बिथोल्ने तथा अमेरिकी उपभोक्ता र व्यवसायको हितलाईसमेत हानि पुर्‍याउने बताउनुभएको छ ।

ट्रम्पको करका कारण विश्वव्यापी व्यापार अवरुद्ध भएको बेला यो घोषणाको असर व्यापक हुन सक्ने चेतावनी विज्ञहरूले समेत दिएका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया