सुर्खेतको नारायण चिउराडी वन क्षेत्रमा रुख कटान : किर्ते हस्ताक्षर गरी काटिएको स्थानीयवासीको भनाइ

 वैशाख ६, २०८२ शनिबार १२:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुर्खेतको चौकुने गाउँपालिका–१ नारायण चिउराडी सामुदायिक वन क्षेत्रमा अवैधरुपमा रुख कटान भएको र यसले बस्ती नै जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

डिभिजन वन कार्यालय भेरी र वेतान सब–डिभिजन वन कार्यालयमा किर्ते हस्ताक्षरमार्फत केही मानिसले समूह गठन गरी अवैध रूपमा रुख काटिएको स्थानीयवासीको गुनासो छ ।

स्थानीय अगुवा एवम् वन समितिका सदस्य तारासिंह खण्डीका अनुसार वन उपभोक्ता समूह गठनको प्रक्रिया नै नक्कली हस्ताक्षरका भरमा गरिएको छ ।

उहाँले समूहबाट कानून विपरीत वन क्षेत्रका रूखहरू काटिएको आरोप लगाउनुभयो । उहाँले प्रदेश वन निर्देशनालय सुर्खेतमा दिएको निवदेनमा रुख कटानसँगै जैविक विविधता जोखिममा परेको तथा तलको बस्तीमा पहिरो, बाढी र खानेपानीको सङ्कट चुलिन सक्ने उल्लेख छ ।

स्थानीयवासीको भनाइ अनुसार रुख कटानको असरले खानेपानीको मुहान सुक्ने जोखिम छ । रुख काटेपछि पहिरो बढ्ने र बस्ती नै खतरामा भन्दै स्थानीय अगुवाले सामूहिक रुपमा गुनासो गरे पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको गुनासोसमेत गरेका छन् ।

डिभिजन वन कार्यालय भेरीका प्रमुख डीएफओ जितेन्द्र महतले १८ वटा रुख कटानको अनुमति दिएको जानकारी दिनुभयो । त्यसमध्ये अहिलेसम्म आठ वटा रुख काटिएको सूचना पाएको उहाँ बताउनुहुन्छ । स्थानीयको गुनासोपछि तत्काल निरीक्षण टोली पठाइएको र आवश्यक परे कटान कार्य रोक्ने उहाँको भनाइ छ ।

प्रदेश वन निर्देशनालय, सुर्खेतका निर्देशक शेरबहादुर श्रेष्ठले पनि प्रक्रिया पुर्‍याएरै रुख कटानको स्वीकृति दिइएको दाबी गर्नुभएको छ । डिभिजन वन कार्यालय भेरीबाट कर्मचारीको टोली स्थलगत अनुगमनमा खटिएको छ ।

स्थानीयवासी र सरोकारवालाले यसअघि पनि ठेकेदार र केही वन कर्मचारीबीचको मिलेमतोमा पटक–पटक अवैध रूपमा रुख काटिँदै आएको बताएका छन् ।

नेपालको वन ऐन, २०७६ अनुसार सामुदायिक वनमा रुख कटान गर्नुअघि स्पष्ट कार्ययोजना बनाइ राज्यबाट स्वीकृति लिनुपर्ने हुन्छ । साथै, वन ऐनको धारा ४९ (१) अनुसार, अनुमतिविना वा झुटा विवरण पेश गरेर वन पैदावार लिने कार्य कानून विपरीत मानिन्छ र यसमा संलग्न व्यक्तिलाई जरीवाना वा कैद सजायको व्यवस्था छ ।

वन नियमावली, २०७९ मा सामुदायिक वनबाट रुख कटान गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । तर चौकुनेमा कुनै पनि अध्ययन नगरी बस्ती र जैविक विविधतालाई खतरा हुने गरी रुख काटिएको सरोकारवालाले बताउँदै आएका छन् ।

स्थानीयवासीले तत्काल रुख कटानको कार्य रोकेर, वन समूह गठन प्रक्रिया, स्वीकृति प्रक्रिया र संलग्न कर्मचारीमाथि छानबिनको माग गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया