चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

 वैशाख ३, २०८२ बुधबार ९:२३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको चैत्र पहिलो हप्ता सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेको थियो ।

स्वास्थ्य सचिव डा.विकास देवकोटाले सङ्घीय अस्पतालमा तालिकाअनुसार काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

चैत्र महिनाभित्र प्राप्त विवरणअनुसार धेरैजसोले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनुभयो ।

वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाण्डौ महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ ।

यसैगरी ट्रमा सेन्टरले सीटीस्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको छ ।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसीभी शुरू गरेको छ ।

कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा शुरू गरेको छ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट विस्तार गरेको छ ।

तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा शुरू गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पीएफती सेवा आरम्भ गरेको छ । कोशी अस्पताल विराटनगरले निःसन्तान उपचार सेवा आईभीएफ शुरू गरेको छ ।

सेवाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुरूवात गर्नुभएको थियो । डडेलधुरा अस्पतालले एकै ठाउँबाट प्रयोगशाला नमूना लिने गरी एकीकृत ल्याब नमूना सङ्कलन शुरू गरेको छ ।

वीरगञ्जको नारायणी अस्पतालले हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी सेवा एकैसाथ शुरू गरेको छ ।

भेरी अस्पताल नेपालगञ्जले चैत्र महिनाभित्र आईसीयुमा दुई शय्या तथा बर्न वार्डमा दुईसमेत थप गरी आठ शय्या विस्तार गरेको छ ।

चैत्रभित्रै एमसीएच भवन तथा ल्याब मेसिन थप्ने बताएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा शुरू गर्न सकेका छैनन् । ती दुवै अस्पतालले चाँडै सेवा थप्ने जानकारी मन्त्रालयलाई दिएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया